चाडपर्व आउने बित्तिकै पलाउने “हाम्रो गाउँको माया” !

  • समाचार यात्रा
  • १ साल अघि
  • 312 जनाले पढ़िसके

उत्सव ढकाल :
नेपालीहरुको महान चाडपर्व मध्ये सबै भन्दा विशेष चाड दशैलाई मानिन्छ । विशेष यस अर्थमा कि यो चाड सबै भन्दा रमाइलो हुने गर्दछ । बर्सौदेखि नभेटिएका आफ्ना आफन्तहरु भेट्ने अवसर प्राप्त हुन्छ । प्रत्येक वर्ष आउने यो पर्व टीका, जमरा अनि आर्शिवाद ग्रहण सङ्गै मनाइने गरिन्छ ।

नेपाली चाडपर्वले सस्कृती मात्र झल्काउदैन । यसले आफ्नोपन, माया ममता र एक अर्का बिचको आफ्नोपन झल्काउने गरेको पाइन्छ ।

आजको समयमा हामीहरु यति व्यस्त भएका छौ कि ! एक अर्कामा भेट्ने आत्मीय साट्ने त कुरै छाडौ एक अर्का सङ्ग बोल्न समेत धौ-धौ हुने गरि व्यस्त भएका छौ । यी यस्तै समयका बेला हामी सबैलाई एक अर्कामा भेटघाट गराउन हाम्रा पर्वहरुको भुमिका पनि उल्लेखनीय रहन्छ । विभिन्न कामकाजले गर्दा हामी हाम्रा परिवारका सदस्यहरु एक अर्कामा छिन्नभिन्न कोहि कता त कोहि कता भएर बस्न बाध्य भएका छौ ।

दशैले उमंग मात्र ल्याउदैन जब छोराछोरी सहरबाट गाउँ पस्न थाल्छन हरेक घरमा उमंग सङ्गै खुसिको लहर छाएर आउने गर्दछ । हरेक आमाहरु खुसी हुन्छन छोराछोरी आफ्नो काखमा आउदा, हजुरबुबा -आमा हरु नातिनातिना आउदा । जुन माहोल मात्र बडादशैले गर्दा मात्र आउने गर्दछ । खैर, त्यस्तो माहोल सधैभर बनाउन सके ती गाउँहरु पनि परिवर्तन हुन्थे होलान जुन आजसम्म पनि बिकासलाई पर्खेर परिवर्तन हुन सकेका छैनन ।

दशैले गाउँमा उमङ्ग दिन्छ, परिवार सदभावपुर्ण भेटघाट दिन्छ । गाउँका घरलाई कमेरो (सेतोमाटो) ले रङ्गिन पाउने अवसर दिन्छ । सहरलाई गाउँले वर्षभरी अनेक थरी दिइरहेको गुण सहरले गाउँलाई सायदै दशैमा तिर्छ पनि होला । माहोल जो बन्छ गाउँमा आत्मियताको !

हामी बहुतै स्वार्थी पनि हुँदै गएका छौ । हामी धेरै जना गाउँदेखि सहर केहि न केही उदेश्य लिएर सहर पसेका हुन्छौ । उदेश्य लिएर उडेको चरा उदेश्य पूरा भएपछि बरु आफ्नो गुणमा फर्केको देख्न सकिन्छ तर हामी मानिस जहाँ गयो त्यही गुण बनाउन तल्लिन भएको देखिन्छ । हाम्रो यहि तल्लिन हुने बानीले गर्दा हाम्रो पर्खाइमा रहेको हाम्रो गाउँ बिदेश गएको छोरो घर नफर्किदा जसरी आमा रुन्छिन त्यसै गरि रोहिरहेको छ । एक आमाले आफ्नो सन्तान नफर्किएपनि उसको भलाई होस भनेर सधै कामना गरिरहन्छिन । तर गाउँ छाडेर सहर पसेका हामीलाई हामीले सामाजिक संजालमा “आफ्नो गाउँ आफै बनाउ” भन्दै मिठा मिठा शब्दको कोहोलो लगाउदै गर्दा त्यो रोइरहेको गाउँले हाम्रो कसरी भलो चिताउला र ? यो सोच्नुपर्ने विषय हैन र ?

हामी गाउँमा जन्मे- हुर्केका मानिसलाई जति नै सहरको रमझम मोहित बनाएपनि, हामीलाई आत्मादेखि रमाउन भने हरेक समय उहीँ गाउँ पाखा पहरा नै चाहिने गर्दछ ।

त्यसैको कारण त हरेक हाम्रा फुर्सदिलो समय पहाडको समिप्यतामा ब्यतित गर्न चाहान्छौ । कास ! यो चाहाना सधैभर मनमा ल्याउन सकेमा गाउँ जति अबिकसित छ त्यति अस्तब्यस्त हुने थिएन । भनिन्छ” बच्चा नरोएसम्म आमाले दूध खुवाउदिनन ” गाउँमा बिकासको लागि बुझेर आवाज उठाउने मानिस हामी नै छैनौ त कसरी हुन्छ आखिर बिकास गाउँमा !

गाउँले हामीलाई सबैथोक दिन सकेन होला तर केही पनि नदिएको कहाँ हो र ? गाउँले हामीलाई भौगोलिक प्रेम सिकायो, आफ्नाहरु बिचको आफ्नोपन देखायो । सहरमा घर नजिक मनहरु टाढा हुँदै गर्दा ठ्याक्कै उल्टो हुने गरि आफ्नोपन झल्काइरहेछ गाउँले । हामी अझै पनि राजधानी जस्ता सम्पन्न शहर मा बसेर पनि प्रत्येक वर्ष दशै तिहार आउनासाथ गाउँ जानका लागि महिना दिन अघि देखिनै कति उत्साहित हुन्छौ । हैन त ? हामीलाई थाहा नै नदिइ ज्यान र सुबिधाले सहर रोजेपनी भित्रि आत्माले भने हरेक पल उहि गाउँ नै रोज्छ । नत्र हामी महिनौ अघिदेखि घण्टौ लाईन लागेर बसको टिकट लिन लाइन लाग्थ्यौ होला र ?

कुन्नि के को दौडमा हामीले सर्वस्व गुमायौँ । आज त्यो गाउँमा जाँदा प्रत्येक गौंडामा उभिएर आँशु र सुस्केरा मात्र आउंछ । हामी आफ्नै नाइटोकोबाट आएको बासको खोजीमा दौडेर मर्ने कस्तुरी जस्तै भयौं !! आज हामी जो जहाँ जस्तो दाबी गरिएको बैभवमा छौं भने पनि त्यो गाउँले जीवनमा फर्किन नसक्ने गरि जकडिएका छौं । हामीलाई आफ्नोपन र मन नपरेर राजा फाल्यौं, सनातन धर्म फाल्यौं आखिरमा देशै मन नपरेर बिदेशमा फाल हाल्यौं तर
यति निरिह र गरीब बनेछौं कि तामाको गाग्रीबाट सारेर तामाकै अंखोराले अलक्क कल कल गरेर मुलको पानी खान पनि नसक्ने दरिद्र भएछौं ।

हाम्रो गाउँले जीवनलाई खै के को आँखा लाग्यो कुन्नी ! हामी सन्सार नै छुटे जसरी गाउँबाट उछिट्टिन पुग्यौ । बिभिन्न काल खन्डका आतंकले हामीहरु मध्ये धेरैलाई थात थलो छोड्ने बनायो । २०४६ पछिका सरकारहरुका गलत कामले पर निर्भरता बढायो । हामीलाई त्यो जीवनमा धावा नबोलीकनै सुगमताका खातिर अलिकति बिकेन्द्रित बिकास आवश्यक थियो त्यो बेला । तर आज अन्धाधुन्द बजेट सक्ने नाममा भौतिक बिकास संचार, बाटो त पुग्दै छ तर हाम्रो मन सधैका लागि त्यहा पुग्न सकिरहेको छैन ।

हाम्रो गाउँ केवल भूगोल मात्र हैन त्यो भू क्षेत्रको बिसिष्ट पहिचान अनि हाम्रो आत्मियता ,सस्कारको जरो पनि हो । तर हामी धोबीको कुकुर घर न घाटको वा अहिलेको बिना मेसोको बिकास भोकामा पाइन भुटेका मकै बैंसमा पाइन पोइको नियतिको सामना गरेका छौँ ।

जब ठूला ठूला महान चाडपर्व आउँदा होस या ठुला ठुला बिपत्ति ! हामिहरु स्यालको खेदाईका चल्लाहरु माउको पखेटामा घुर्सीएर सुरक्षित महसूस गरे जस्तै पुर्खाले जोरेको( हाल बाँझीएको) जग्गा र जन्म घरलाई संझिएर पहाडको गाउँ दगुर्ने तयारीमा छौं हामी l

बिपत्ति र बिकास को कुनै सीमा हुँदैन तर बिश्वासले कत्ति ऊर्जा थप्छ है? सुबिधा सम्पन्न अस्पताल भएको राजधानी भन्दा माता पिताको काख र जन्मघर भवितब्यको सारथी बन्दोरहेछ l अब कमाइको केहि हिस्शाले जन्मस्थान सिँगार्ने प्रण गरौं l दशैमा मात्र हैन सधैभर भत्केको घर पोतौं बाझिएको जमिन जोतौं ! !

प्रतिकृया दिनुहोस्