ओलीको आरोप : जनयुद्ध प्रधानमन्त्री बनेर सत्ता कब्जाका लागि मात्रै थियो

  • समाचार यात्रा
  • २ महिना अघि
  • 64 जनाले पढ़िसके

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्ला गतिविधिहरू हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताए ।

उनले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको बताए । ओलीले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गरे । जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गरे । हिंसा किन गरेको थियो भन्नेकुरा हालसम्म पनि पुष्टि गर्न नसकेको ओलीले बताए । युद्धका पीडितहरुले हालसम्म पनि न्याय नपाउनु दुःखद् भएको उनको भनाइ छ ।

ओलीले भने, “हामीले साह्रै जटिल अवस्था पार गरेर आयौँ । धेरै जटिल अवस्था । एउटा त, हिंसात्मक द्वन्द्व भयो । हिंसा भयो देशमा । हिंसा किन र केका लागि भयो ? त्यसको पुष्टि कसैले गर्न सकेको छैन । जनताले आवाज राख्न, बोल्न पाएन, बोलेर आफ्ना कुरा र हीत राख्न पाएन भन्ने अवस्था थिएन । संविधानले बोल्ने अधिकार, संगठित हुने अधिकार दिएको थियो । र आफ्ना कुरा राख्ने अधिकार दिएको थियो, हिंसा किन गर्नुप¥यो, त्यो पुष्टि अहिलेसम्म कसैले गर्न सकेको छैन । अनि हिंसा भयो, त्यहाँ शान्तिपूर्ण ढंगले परिवर्तन गर्न र ल्याउन सकिने सरकारमा पुग्न सकिने, सरकारमा पुगेर आफ्ना नीति, देश र जनताको पक्षमा बनाउन सकिने अवस्था थियो ।”

अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन १८ वर्षसम्म नटुंगिनु बिडम्बना भएको बताए । हिंसा मच्चाउनेहरू सरकारमा पुगेर शासक भइसक्दा समेत पीडितलाई पीडामै राख्नु कतिसम्मको न्यायसंगत हो ? भन्ने प्रश्न गरे ।

प्रतिकृया दिनुहोस्