त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक

  • समाचार यात्रा
  • ३ महिना अघि
  • 43 जनाले पढ़िसके

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ ।

त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

सम्बन्धित संकाय र अध्ययन संस्थानका डीन बसेर शैक्षिक क्यालेन्डर बनाइएको परिषद्का सदस्य सचिव एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार वार्षिक प्रणालीअन्तर्गत चार वर्षका लागि पहिलो वर्षको परीक्षा विसं २०८१ भदौको दोस्रो साता, दोस्रो वर्षको भर्ना २०८१ असोजको दोस्रो साता र परीक्षा २०८२ असारको दोस्रो साता तोकिएको छ ।

त्यस्तै, तेस्रो वर्षको भर्ना २०८२ असारको दोस्रो साता, परीक्षा २०८३ जेठ दोस्रो साता, चौथो वर्षको भर्ना २०८३ असार दोस्रो साता र परीक्षा २०८४ वैशाख दोस्रो साता तोकिएको छ । यसैगरी स्नातक तहको सेमेष्टर प्रणालीअन्तर्गत पहिलो सेमेष्टरको परीक्षा २०८१ वैशाखमा, दोस्रो सेमेष्टरको २०८१ असोज, तेस्रो सेमेष्टरको २०८१ चैत, चौथो सेमेष्टरको २०८२ भदौ÷असोजमा तोकिएको छ ।

स्नातक तर्फको पाँचौँ सेमेष्टरको २०८२ चैतमा, छैटौँ सेमेष्टरको २०८३ असोज, सातौँ सेमेष्टरको २०८३ चैत र आठौँ सेमेष्टरको २०८४ असोजमा तोकिएको छ । स्नातकोत्तर तर्फको प्रथम सेमेष्टरको परीक्षा २०८१ असार, दोस्रो सेमेष्टरको २०८१ माघ, तेस्रो सेमेष्टरको २०८२ असार र चौथो सेमेष्टरको २०८२ पुसमा तोकिएको परीक्षा नियन्त्रक जोशीले बताइ । सेमेष्टर र वार्षिक प्रणालीमा एक सय दिनभित्र नतिजा निकाल्ने गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्