पाँच महिनाको अवधिमा सवारी दुर्घटनाबाट १४२ जनाको मृत्यु

  • समाचार यात्रा
  • १ साल अघि
  • 53 जनाले पढ़िसके

काठमाडौँ : आर्थिक वर्ष २०७९/८० को साउनदेखि मंसिरसम्मको अवधिमा बागमती प्रदेश प्रहरी कार्यालय मातहतका १० (उपत्यकाका ३ जिल्ला बाहेक) जिल्लाहरुमा भएको ६३९ वटा सवारी दुर्घटनामा परी १४२ जनाको मृत्यु भएको छ भने १४२३ जना मानिस घाइते भएका छन् ।

यान्त्रीक मानविय, वातावरणीय र सडकको भौतिक अवस्था गरी सवारी दुर्घटनाका प्रमुख चार वटा कारण हुन्छन । बागमती प्रदेशमा भएको सवारी दुर्घटनाको कारण विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना मानवीय त्रुटिका कारणले हुने गरेको देखिएको छ ।

त्यसपछि क्रमशः सडकको अवस्था, सवारी साधनको यान्त्रिक कारण र अन्य वातावरणीय कारण देखिएको छ ।  यसैगरी सवारी दुर्घटनामा परी सबैभन्दा बढी २ पाङ्ग्रे  (मोटरसाईक/स्कुटर) संलग्न रहेको छ भने क्रमश जिप/कार, ट्रक, ट्यांकर बस, टेम्पो, माईक्रो, ट्रेक्टर, टिपर संलग्न रहेको देखिन्छ ।

यस आर्थिक वर्षमा बागमती प्रदेशका बिभिन्न जिल्लाहरुमा बिभिन्न १६७ वटा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ भने २८४२ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरि मर्मत तथा सुधार गर्न लगाईएको छ ।

तिब्र गतिमा सवारी चलाउँदा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि मकवानपुर, सिन्धुली, चितवन, काभ्रे र धादिङ जिल्लामा टायम कार्ड लागु गरिएको छ । १० जिल्लाका विभिन्न ४२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी नागरिकहरुलाई सेवा प्रदान गरिएको छ ।  यसैगरी यस अवधिमा ट्राफिक नियम उल्लंघनका घटनाहरुबाट संकलित ९ करोड ३१ लाख ८१ हजार ५०० रुपैया जरिवाना राजश्व खातामा जम्मा गरिएको छ ।

प्रतिकृया दिनुहोस्