छात्राबासले चेपाङ किशोरीहरुको पढाईमा सहज

  • समाचार यात्रा
  • १ साल अघि
  • 127 जनाले पढ़िसके

धादिङ : धादिङको गजुरी गाउँपालिका वडा नं २ छेपाङकी सुस्मिता चेपाङ गजुरीस्थित चेपाङ छात्रावासमा बसेर एसइईको परिक्षा दिइन् । तीन वर्षअघि पढ्नकै लागि छात्राबास आएकी उनले आर्दश मावि गजुरीबाट एसईईको परिक्षा दिएकी हुन् । घरबाट ३० मिनेटमा पुगिने छेपाङ निमाविमा कक्षा ७ सम्म पढाई सकेपछि बाँकी पढाईका लागि गजुरी झरेकी थिइन् । घर नजिक विद्यालय नभएपछि गजुरीमा सञ्चालन भएको छात्राबासले उनको पढाईमा सहजता थपिदियो ।

‘गाउँमा कक्षा ७ सम्म पढाई हुन्थ्यो, बाँकी कक्षा पढ्न बजार झर्नुपथ्यो हिडेर आउनजान गाह्रो हुन्थ्यो’ उनी भन्छिन्, कक्षा ८ देखि छात्राबासमा बसेर पढ्न पाएको छु । गाउँँमा मेलापात, घाँसदाउरामै बित्ने दिनहरु छात्राबासमा बसेर पढ्न पाउँदा सहज भएको सुनी सुनाउँछिन् । छात्राबासमा साथीहरुसँग भेटघाट, नयाँ नयाँ विषयमा जानकारी, नियमित विद्यालयमा जाने, नियमित पढ्ने बानीको विकास भएको उनले सुनाइन् ।

सुस्मिताको ७ जनाको परिवार धान्न उनका आमाबुबालाई हम्मे छ । एक छोरा र चार छोरीको पढाईको खर्च धान्न सुस्मिताका बुबा सुजन चेपाङलाई गाह्रो हुने गरेको छ । ‘परिवारमा आर्थिक समस्या छ, घरव्यवहार धान्न समेत सुस्किल छ, छोराछोरीको पढाईमा जेनतेन पु¥याइरहेको छु’ उनी भन्छन्, ‘छात्राबासमा निशुल्क बस्ने व्यवस्था छ भन्ने सुनेपछि पढ्न पठाएको हु ।’

गजुरी गाउँपालिका वडा नं ३, तार्केकी कविता चेपाङले पनि पाँच वर्ष छात्राबासमै बसेर एसइइसम्मको पढाई सकेकी छिन् । आर्थिक अभावकै बाबजुत पनि उनको परिवारले उनलाई जेनतेन पढाइरहेका छन् । कक्षा ५ सम्मको पढाई जसोतसो गाउँमै सकेकी उनले त्यसपछि एसईईसम्मको पढाई आर्दश मावि गजुरीबाट सकिन । पाँच वर्ष छात्राबासमा निशुल्क बसेर पढ्न पाउदाँ खुसी लागेको उनले बताइन् । ‘गाउँमा हुदाँ घरको कामले गर्दा पढ्न जान पाउँदैनथ्यो, पढाई पनि त्यति हुदैन्थ्यो,’ उनी भन्छिन्, ‘यहाँ आएपछि नियमित पढाई, नियमित विद्यालय भएको छ, नयाँ कुराहरु सिक्ने मौका पाएका छौँ, घरमा भन्दा धेरै सहज छ ।’

दक्षिणी धादिङको ३१ जना चेपाङ किरोशीहरु छात्राबासमा बसेर पढिरहेका छन् । सिमान्तकृत चेपाङ समुदायका किशोरीहरुको शिक्षामा सहयोग पु¥याउनको लागि धादिङको गजुरी गाउँपालिका वडा नं १ हाँगेटारमा अहिले सुविधा सम्पन्न छात्राबास निर्माण गरिएको हो । आर्थिक अवस्था कमजोर, विद्यालय टाढा हुनु, गुणस्तरीय पढाई नहुनु लगायतका विविध समस्याले पढाई छोड्न बाँध्य रहेका किशोरीहरुलाई छात्राबास निर्माणपछि सहज भएको छ । ३६ जना क्षमताको छात्रावासको गजुरी गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ड एण्ड डेभलपमेन्ट, फ्रान्ससँगको साझेदारीमा निर्माण गरेको हो ।

दुर्गम भुगोलका शिक्षाबाट बञ्चित, आर्थिक अवस्था कमजोर भएका किशोरीहरुका लागि छात्राबास निर्माण गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । ‘विद्यालय टाढा भएकै कारण दक्षिणी भेगका चेपाङ किशोरीहरु शिक्षाबाट बन्चित हुनुपरेको छ, उनीहरुको सहजताका लागि पनि यो महत्वपूर्ण छ’, उनी भन्छन्, ‘छात्रावासले चेपाङ किशोरीको शैक्षिक विकासमा उल्लेख्य सुधार ल्याउने विश्वास गरेका छौँ ।’ साढे ४ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न छात्राबास भवनमा भान्सा तथा डाईनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पाले घर निर्माण गरिएको छ ।

जिल्ला समन्वय समितिले पाँच रोपनीजग्गा ५० वर्षका लागि गजुरी गाँउपालिकालाई छात्रावास भवन बनाउने सर्तमा जग्गा उपलव्ध गराएको हो । प्लानेट ईन्फान्ड एण्ड डेभलपमेन्टको तर्फबाट एक करोड ३९ लाख ८५ हजार सडचालिस रुपैया ६५ पैसा, गाँउपालिकाको तर्फबाट जग्गा व्यवस्थापन सहित ९३ लाख ५८ हजार आठ सय गरी दई करोड ३३ लाख २२ हजार आठ सय ४७ रुपैया चार पैसा सहयोग गरिएको छ । दक्षिणी धादिङको महाभारत पर्वत श्रृंखलामा सिमान्तकृत चेपाङ समुदायको बसोबास रहेको छ । विकट क्षेत्रमा उच्च शिक्षा हाँसिल गर्न आउदा हुने बसाइ ब्यवस्थापन सहज बनाउन, चेपाङ किशोरीहरुको शैक्षिक विकासमा सहयोग पु¥याउनको लागि सहकार्य गरिएको गजुरी गाउ“पालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्