फेरि त्यो दशै कहिले आउला ?

  • समाचार यात्रा
  • १ साल अघि
  • 297 जनाले पढ़िसके

विवेक धरेल :

बर्खा सकिदै हुन्छ अनि हिउँदको सिरेटोको पर्खाइमा आतुर साल र सल्लाका पातहरुको सुसेली आहा कति मीठो। हलुका तातो घाम अनि चिसो हावाको समिश्रण त्यो मौसम नै कति आनन्दीत अनि मोहित के ! अनि मुखैमा आएको ठूलो चाड बडा दशै अर्थात विजया दशमी।
गाउमा बन्चरो बोकेर बन जाने र कुटो बोकेर मढ्किलो जानेको ताती देखिन थालेका छन । कोहि दाउरा बटुलेर चाङ्ग लगाउदै छन त कोहि रातो माटोले घर लिप्न सफा गर्दै छन।कति कमेरोले बाहिर भित्ता पोत्दै छन।

डोकामा लुगाको भारी बोकेर खरानी बोकेर खोलामा जानेहरुको लर्को छ।आज बर्षौको दुख बिर्सेर ती कपडाको मयल सङ्गै फालेर मन अनि कपडा अनि तन सफा बनाएर चाडबाड मान्न रौनकता भरीएका अनुहारहरुमा उत्तिकै उमङ्ग छन।

बच्चा केटाकेटी नया लुगाको सपना देख्दैछन।परदेशी र सहरिया गाउमा पाइलो टेक्दैछन। बुढापाका काठ खोपेर चर्खे पिङ्गको तयारीमा छन।।अनि झिल्के बनेर गाउँ आएका परदेशीले ल्याएको चकलेट र चुरोटको सर्को तान्दै दौतरीहरु लिङ्गा गाढ्दै छन।

एकाटोली खर बाबियो बटुल्दै छन अर्का टोलि बाटो घाटो कोदालोले नै भए नि चौडा बनाउन दौडिएका छन। ढिकी जातो र मिल खाली छैन।बजारका पसलमा ग्राहकको भिड त्यतिकै छ।आकासमा चङ्गा उडाउने बच्चाहरु रमाइरहेका छन। जमरा पनि उम्रीन थालेका छन।खुकुरीमा धार लागिसकेछन ।।कुबिन्डो र घिरौलाको चिचिल्लो ठिक पारिसके । बोको कि खसी त भनेर सोध्नेहरु उत्तिकै उत्सुक छन।।दिन दिनै राखेका जमरा उम्रीएर हरियो हुँदै गएको छ।

आहा ! सातौ दिनको फुलपाती सबैका घरमा फुल जमरा अनि भाडाकुडाको पुजा अनि केहिको घरमा खसी खुइल्याइदै छ।आज काट्नेका घरमा भोलि काट्नेले सघाउदै छन । पिङ्ग हालिसके भुरा केटाकेटि पिङ्गकै वरपर झुम्मिरहेका छन।मासुको बास्ना फैलिसकेको छ।
अनि कतै तास त कतै कौडाको भिड अनि लङ्गुरबुर्जाको हल्ला।यस्तै भोलिपल्ट अनि पर्सिपल्ट नि माहोल रमाइलो नाच गान हुँदै छ।।आउन बाकिपनी घर आइसके ।एक अर्काको दुख सुख बाढ्दै रमाइलो गर्दै छन।टिकाको दिन बिहानै नुवाइ धुवाइ गरेर टीका जमरा ठिक्क पारेर साइत कुर्दै छन।बुढा देखि बच्चा सम्मका निधार भरिए जमरा छरिए ।।सबैको अनुहार हसिलो छ।त्यो वर्षदिन सम्मको अनेक तनाव दुख कष्ट सबैले बिर्सिएका छन।सबै आफ्ना आफन्तको मा जाने तयारीमा छन त कोहि बाटो लागिसके।

यतिकैमा मेरो मोबाइलको आलर्म बजिहाल्यो म बिउझिए कुनामा राखेको ग्यास बाले र पानी उमाले न त्यो ग्यासको आगोमा त्यो दशैको दाउरा जस्तो आँखा पोल्ने धुवाको मजा न त त्यो पानीमा पधेरोको जस्तो स्वाद।अनि माथी घुमेको पङ्खा हेर्दै सुसेलिरहेको सालका पातहरु सम्झिएर मनमनैू फेरि त्यो दशै अब कहिले आउलाू भन्दै आफ्नो दिनचर्या सुरु गरे।

प्रतिकृया दिनुहोस्