धादिङको रिगाउँ पहिरोको जोखिममा, विद्यालय बन्द

  • समाचार यात्रा
  • १ साल अघि
  • 127 जनाले पढ़िसके

मलेखु । धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका–१ स्थित रिगाउँ पहिरोको जोखिममा परेको छ । गाउँमाथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् ।

बस्तीमाथि रहेका बारीका गरा भासिन थालेको र जमिन चिरा परेर बग्न थालेको स्थानीय एक विद्यालयका प्रधानाध्यापक रामचन्द्र सिटौलाले जानकारी दिए ।

भासिन थालेको स्थानभन्दा तलका घर खाली गर्न थालिएको छ । हालसम्म भासिन थालेको स्थानको सिधा मुनि रहेका करिब १५ घर खाली गराइएको छ ।

वृद्धवृद्धा र बालबच्चालाई सुरक्षित स्थानतर्फ सारिनाका साथै अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ लैजान थालिएको छ । अहिले त्यहाँका बासिन्दाले घरायसी सरसामान र वस्तुभाउलाई सुरक्षित स्थानतर्फ सारिरहेको रिगाउँ माविका प्रधानाध्यापक सिटौलाले जानकारी दिए ।

केहीले विद्यालयकै सुरक्षित भवनमा सरसामान थन्याएका छन् भने केहीले जोखिम नभएका छिमेकी र आफन्तको घरमा राखेका छन् ।

गाउँभन्दा माथिका जमिन भासिन थालेको छ । त्यही भासिन थालेको ठाउँभन्दा मुनि बस्ती छ । करिब ५० घरजति पुरिने अवस्थामा पुगेको छ । आसपासका करिब ६० घर पनि जोखिममा रहेको गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले बताए ।

कुनै पनि बेला पहिरो झर्न सक्ने जोखिम उच्च भएपछि उक्त विद्यालयको पठनपाठन बन्द गरिएको छ । स्कुलका दुई भवनमध्ये २० कोठे नयाँ भवन पनि जोखिममा परेको छ । कादुरी भन्ने संस्थाले दुई वर्षअघि निर्माण गरिदिएको खानेपानीको ट्यांककी पनि बगाउन सक्ने सम्भावना बढेको छ ।

हिजोदेखि लगातार पानी परिरहेको र बिहान स्थानीयवासी घाँस काट्न जाने क्रममा जमिन भासिएको देखेर गाउँमा खबर गरेका थिए । सरोकारवाला सबैले गएर हेर्दा थप जोखिम हुने सक्ने भएकाले बस्ती खाली गराइएको हो ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ५४ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा प्रायः तामाङ समुदायको बसोबास छ । बर्खा लागेपछि यहाँ सवारीसाधन चल्दैन ।

प्रतिकृया दिनुहोस्