नोबेल साहित्य पुरस्कार नर्वेली लेखक फोसालाई दिने घोषणा

  • समाचार यात्रा
  • ७ महिना अघि
  • 56 जनाले पढ़िसके

काठमाडौं । समसामयिक विषयमा बहुसङ्ख्यक नाटक लेख्ने नर्वेली लेखक तथा साहित्यकार यून फोसालाई मंगलबार यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

स्वीडिस एकेडेमीकाअनुसार ६४ वर्षीय फोसालाई व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गर्ने शैलीका लागि पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो ।

फोसा आफ्नै शैलीमा उपन्यासहरू लेख्नुहुन्छ, जसलाई फोसाको न्यूनतावाद (फोसा मिनिमलिजम) को सङ्ज्ञा दिइन्छ । उनले न्यूनतम तथा सरल भाषामा निर्भर भई लय, माधुर्य र मौनताको माध्यमबाट आफ्नो सन्देश आफ्ना नाटक, काव्य तथा अन्य कृतिमा दिएका छन् ।

फोसाले यस प्रतिष्ठित पुरस्कार पाउँदा आफू ‘अभिभूत र केही त्रसित’ भएको प्रतिक्रिया दिए ।

फोसाको जन्म सन् १९५९ मा भएको हो । उहाँका ४० नाटक, केही उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवादहरू प्रकाशित छन् । आगामी डिसेम्बर महिनामा उनलाई एउटा विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिने छ ।

यसअघि नोबेल पुरस्कार समितिले सन् २०२३ को चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो ।

अब शुक्रबार शान्ति र सोमबार अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्