एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो

  • समाचार यात्रा
  • १ साल अघि
  • 112 जनाले पढ़िसके

काठमाडौं । नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी प्रदेश भदौ १६ र १७ गते, मधेस प्रदेशको असोज ५ र ६ गते, वाग्मती प्रदेशको असोज ८ र ९ गते, कर्णाली प्रदेशको असोज १० र ११ गते, कोसी प्रदेशको असोज १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरिएको छ ।

पार्टीले गण्डकी प्रदेशको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेश असोज २१ र २२ गते अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । उनका अनुसार पार्टीले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन स्थानीय तहबाट हुने र अधिवेशनका लागि ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

उपमहासचिव ज्ञवालीले पार्टीले युवाको सहभागितालाई तल्लो तहबाट नै विस्तार गर्ने योजनाअनुसार नै प्रतिशत छुट्टाइको बैठकले निर्णय गरेको बताए । उनका अनुसार वडा र टोलमा ४० वर्ष मुनिका एक तिहाइ युवाहरु अनिवार्य र पालिका तहमा न्यूनतम २० प्रतिशत युवा, जिल्लामा १५ प्रतिशत र प्रदेशमा १० प्रतिशत युवालाई सहभागिता गराउने निर्णय गरेको छ । बैठकले केन्द्रीय कमिटी सदस्यमा छक्कबहादुर लामा र केदार न्यौपानेलाई मनोनित गर्ने निर्णय गरेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका शंकरदत्त जोशी र बागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनित गर्ने निर्णय गरेको छ । सङ्गठन विभागको सचिवमा माधव ढुंगेललाई मनोनित गर्ने निर्णय गरेको छ ।

युवा संघको अधिवेशनबारे छानबिन समिति
यस्तै राष्ट्रिय युवा संघ नेपालको कञ्चनपुर जिल्ला अधिवेशनका सन्दर्भमा भएको गतिविधिबारे छानबिन गर्न पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको छ ।

अधिवेशनमा भएका गतिविधि चिन्ताजनक र पार्टी पार्टी र युवा संघको मर्यादालाई नसुहाउने खालका गतिविधि भएकाले त्यस सम्बन्धमा आवश्यक छानबिन गरी समस्या समाधान गर्न छानबिन समिति गठन गरिएको उनले बताए ।

पार्टी उपाध्यक्ष ज्ञवालीको संयोजकत्वमा गठित छानबिन समितिको सदस्यमा जनसम्पर्क सङ्गठन समन्वय समितिका संयोजक भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य ज्वालाकुमार शाह सदस्य रहेको तीन सदस्य छानबिन समिति गठन गरिएको उमहासचिव ज्ञवालीले बताए । समितिलाई छानबिन र समाधानको सबै जिम्मेवारी निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्