मतदाता नामावली संकलन र अद्यावधिक माघ २ देखि हुने

  • समाचार यात्रा
  • २ साल अघि
  • 75 जनाले पढ़िसके

काठमाडौं । आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु हुने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने काम बन्द गरेको निर्वाचन आयोगले माघ २ गतेदेखि फेरि सुरु गर्ने निर्णय गरेको हो ।

गत साउन १९ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिकको काम स्थगित भएको थियो । आगामी माघ २ गतेदेखि देशभरका निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि-इनरोलमेन्ट प्रणाली (अनलाइन)बाट सुरु गर्ने गरी तयारी गरिएको आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाहिरी जिल्ला मतदाता नामावली सङ्कलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित अनलाइनबाट आवेदन गर्न सकिनेछ । विवाह वा बसाइ सरेका कारण नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा विवाह दर्ता प्रमाणपत्र वा बसाइसराइ दर्ता प्रमाणपत्रका आधारमा अनलाइन प्रणालीमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा आवेदन दिन सकिने आयोगले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्