- समाचार यात्रा
- २ साल अघि
- 93 जनाले पढ़िसके

धादिङ : नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा गरिएको छ । जिल्लामा भएका मानवअधिकार उल्लंघन र मानवअधिकार संग सरोकार भएका घटनाहरुको पृष्ठपोषण तथा सुझाव संकलनका लागि वार्षिक समिक्षा गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले धादिङबेसीमा सरोकारवाला बीच सन् २०२२ मा भएका घटनाहरुबारे बताउँदै छुटेका घटनाबारे जानकारी दिन आग्रह समेत गरेको छ ।
इन्सेकले मानवअधिकार वर्ष पुस्तकका लागि ३७ वटा घटना उल्लेख गरेका छन् । हत्याका घटनामा ३ जनाको मृत्यु, प्रदेश, संघ र स्थानीय तहको निर्वाचनमा भएका झडप र कुटपिटका १२ घटनामा ३७ जना घाइते, बलात्कारका ३ वटा, बलत्कारको प्रयास १ वटा, बाल यौन दुव्यवहारका ५ वटा, जातीय छुवाछुतका २ वटा, सम्पति क्षतिका १ वटा घटना, बहुविवाह, आत्महत्या दुरुत्साहन, बालक कुटपिटका एक एक घटना भएको इन्सेक धादिङ प्रतिनिधि सीताराम अधिकारीले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले मानव अधिकारको आधारभूत विकास गर्न कानुन न्यायको दृष्टिले सबैले आफ्नो जिम्मेवारी पूरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताए । उनले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कूलमान विकले राज्यको ध्यान नपुगेको विषयमा समेत घटनाहरु सार्वजनिक भएपछि राज्यले मानवअधिकारका लागि काम गर्ने भएकोले निरन्तर प्रकाशनका लागि आग्रह गरे । नागरिकका आधारभुत अधिकारनै मानव अधिकार भएकोले राज्यले पुरा गर्नुपर्ने उनको धारणा थियो ।
धादिङ बार एसोसिएसनका अध्यक्ष विश्वराज अधिकारीले मानवअधिकार संरक्षणको दायित्व राज्यको भएको र यसका लागि सबै मिलेर निरन्तर आवाज उठाउन र आफूपनि मानवअधिकारका विषयमा आवाज उठाउने बताए । धादिङ जिल्लाको समस्या भनेको भ्रष्टाचार भएकोले यसका विरुद्ध लाग्न, जिल्लामा भएका मालपोत लगायतका विषयको अनियमितता बारे जनताको पक्षमा उभिन सरकारहरुसंग आग्रह गरे ।
महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालका बागमती प्रदेश अध्यक्ष गायत्री खतिवडाले महिलाको मानवअधिकारबारे वर्ष पुस्तकका सबै घटनाउल्लेख गर्न आग्रह गर्दै आर्थिक सामाजिक सांस्कृतिक अधिकारबारे खासगरी खाद्य अधिकारका विषयमा विशेष रुपले सार्वजनिक गर्नु पर्नेमा जोड दिइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धर्मजंग थिङले मानव अधिकार संरक्षण र पालनाका लागि नेपाल प्रहरी प्रतिवद्ध रहेको र मानवअधिकारका विषययमा सचेत रहेको बताए ।