प्रतिनिधिसभाको पहिलो नतिजा : मुस्ताङमा कांग्रेसका थकाली निर्वाचित

  • समाचार यात्रा
  • १ साल अघि
  • 38 जनाले पढ़िसके

मुस्ताङ : प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए ।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याएका थिए ।

२०७४ मा मुस्ताङमा वाम गठबन्धनबाट उम्मेदवार बनेका तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएका थिए । रोमी गौचनले भने ३ हजार १ सय ८१ मत प्राप्त गरेका थिए । यसपटक कांग्रेस र माओवादी केन्द्रलगायतको गठबन्धनको बलमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

मुस्ताङको कूल जनसंख्या ११ हजार ५९३ रहेको छ । यस जिल्लामा कूल मतदाता १० हजार ९५७ रहेका छन् । मंसिर ४ गते आइतबार भएको निर्वाचनमा मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्