धादिङका चेपाङ समुदायले मनाए न्वागी पर्व

  • समाचार यात्रा
  • १ साल अघि
  • 251 जनाले पढ़िसके

धादिङ : धादिङका चेपाङ समुदायले ‘न्वागी’ पर्व मनाएका छन् । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो । न्वागीको दिन चेपाङ समुदायले रातभर यसरी झाक्री बसेर पितृ बोलाउने र नयाँ अन्न चढाउने परम्परा छ । एउटा कुलका एक जना मुल झाक्री हुन्छन् । कुलका सबैजनाले झाक्रीको घरमा अन्न फलफुल र कन्दमुल लगिदिन्छन् । झाक्रीले रातैभरी लगाएर सबैको घर फलाकेर छेदभेद भगाउने र नयाँ फलेका अन्न फलफुल शुद्ध बनाउने भन्ने चलन रहि आएको स्थानीयले बताएका छन् ।

न्वागी चेपाङ समुदायले मनाउने प्रमुख चाड हो । हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउछन् । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गर्छन् । चेपाङ झाँक्रीहरुले एकपाखे ढ्यांग्रोे ठोक्दै कुखुराको बली चढाउने प्रचलन पनि छ । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, पिडालुलगायत कन्दमुल पितृलाई बुझाउने र अन्न फलाउने भूमिलाई पुजा गर्ने चलन छ ।

ठाउँ र कुल अनुसार पनि न्वागी मनाउने चलन फरक फरक छ । छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गर्छन् । चेपाङले न्वागी पर्वलाई ‘पान्देई घ्यासा’ चाड पनि भन्छन् । भेला भएर ढ्यांग्रोे बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ ।

न्वागीको दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने चेपाङ संघ धादिङका अध्यक्ष भीमबहादुर चेपाङले बताए । वारनामा कोही चेपाङ काममा निस्कँदैनन् । चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्छन् । उनीहरू जंगलका गिठा भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजंगलस“ग राम्रो साइनो गाँसिएको छ । त्यसैले प्रकृतिको पूजा उनीहरूका लागि महत्वपूर्ण हुन्छ । यो वर्ष पनि वर्षभरी मृत्यवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा बुधबार रातभर ढ्याङ्ग्रोमा फलाकेर विहान न्वागी पुजा गरेका छन् ।

प्रतिकृया दिनुहोस्